jump to navigation

बेडरुममा जुलाई 15, 2017

Posted by timecircle in Uncategorized.
add a comment
  • उन्नाइसौँ शताब्दीमा फ्रान्सेली नारी स्वाभिमान र नारीवादी चेत कुन स्तरमा थियो भन्ने मोपासाँले यस कथाले प्रस्ट पार्छ । भार्सन स्टेरीद्वारा अंग्रेजीमा अनूदित तथा रोबिन बुक्स इन्डियाद्वारा प्रकाशित ‘सेलेक्टेड सर्ट स्टोरिज बाई गुई डी मोपासाँ’ बाट ‘इन द बेडरुम’ कथाको अनुवाद ।

असार २४, २०७४- गुई डी मोपासाँ
चुलोमा आगोको मुस्लो दन्किरहेछ । जापानी टेबल दुई जनाका लागि ठिक्क पारिएको छ । चिनीको कचौरा र भुँडे घाँटी भएको ग्लासको छेउमा चियाको केटलीबाट बाफ उडिरहेछ ।
कम्टेसले साँझपख लगाउने लुगा फुकालिसकेपछि ऐनाअगाडि बसेर कपाल मिलाई । अनि कम्टे डी स्यालुरले पनि आफ्नो ह्याट, पञ्जा, ऊनको कोट मेचमा राख्यो । स्वास्नीचाहिँले ऐना हेरेर गहनाले सजिएको औँलाले निधारमा कपालको अल्खा मिलाई अनि आफ्नै प्रतिविम्ब हेरेर मुसुक्क हाँसी । उसले लोग्नेतर्फ हेरी जो बोल्न हिचकिचाउँदै कति बेरदेखि उसैलाई हेरिरहेको थियो । अन्तत: उसले सोध्यो, ‘जे होस्, आज सबैले तिमीलाई आँखा लगाए, होइन त ?’
उसले लोग्नेका आँखामा सोझै आँखा जुधाई र विजयीे भावमा जवाफ दिई, ‘हो, लगाए त !’
ऊ बसी । लोग्ने पनि उसको अगाडि बस्यो । दुई औँलाको बीचमा केक मिच्दै उसले भन्यो, ‘त्यसले गर्दा… मचाहिँ हास्यास्पद भएँ !’
‘हजुरलाई त्यस्तो लाग्यो ?’ उसले सोधी, ‘के मेरो कुरा काट्नुभएको ?’
‘होइन प्रिय ! मैले भन्न खाजेको यति मात्रै, तिमीप्रति बुरेल महोदयको चाला पूरै असभ्य थियो । मलाई अधिकार हुँदो हो त त्यसलाई मैले गर्न जान्या थिएँ ।’
‘ओहो, अलिकति इमानदार पनि हुनुस् श्रीमान्जी । पोहोरदेखि हजुरले आफ्नो चाला बदल्नुभएकै हो, कुरा सिद्धिगो त ! कसैले मलाई हेरोस् वा गाला सुमसुम्याओस्, हजुरले ध्यान दिनै छाड्नुभएको थियो । जब मैले पत्तो पाएँ, हजुर एउटी केटीको प्रेममा फस्नुभएको छ, तब आज हजुरले भनेजस्तै मैले पनि हजुरलाई भनेको थिएँ । अझ बढी कारणहरूसहित म अत्यन्त दु:खी भएँ । मादाम डी सर्भीसँग साँठगाँठ गरेर हजुर मलाई दु:खी तुल्याइरहनुभएको थियो र मलाई हाँसोमा उडाउनुभएको थियो । के जवाफ दिनुभएको थियो त्यति बेला ? अँ, बिहे समझदार जोडीबीचको पार्टनरसिप मात्र हो, सामाजिक बन्धन मात्र हो, नैतिक बन्धन होइन । यही भन्नुभएको होइन ? हजुरकी केटी मभन्दा अतुलनीय स्तरमा आकर्षक, कमनीय र आइमाईको गुणले युक्त छिन् भन्नुभएको थियो । हो, त्यही भन्नुभएको थियो, धेरै नै नारीमय आकर्षणले युक्त । पक्का भलाद्मीबाट युवतीले आशा गरेजस्तै गरी पूर्ण चलाखी र प्रशंसाको घोला मिसाएर यो कुरा भन्नुभएको थियो जसलाई मैले कदर गर्नु थियो । हजुरको पक्का निहितार्थ के थियो भन्ने मलाई राम्ररी याद छ ।
‘सँगै बस्ने तर एक अर्काबाट पूरै स्वतन्त्र भएर, भन्ने हाम्रो सम्झौता थियो । कारण हाम्रो एउटा बच्चा छ । उसकै कारण मात्र हामीबीच सम्बन्ध बाँकी थियो । हजुरले मलाई धम्काएरै आफ्नो क्रियाकलाप जारी र सम्बन्ध गोप्य रहने बताउनुभएको थियो । अनि मैले चाहे प्रेमी राख्न सक्ने छुट पनि दिनुभएको थियो । अनि महिलाले उचित व्यवहार गर्न अपनाउनुपर्ने चलाखी र दक्षता’bout, अनि त्यस्तै–त्यस्तै कुरा’bout बडो सानदार तरिकाले लामै भाषण दिनुभएको थियो ।
‘म बुझ्छु नि, डियर श्रीमान्ज्यू, म राम्ररी बुझ्छु । हजुर त्यस बेला म्यादाम सर्भीसँग गहिरो प्रेममा पर्नुभएको थियो र, मेरो वैधानिक प्रेम हजुरलाई घाँडो भएको थियो । सायद मैले हजुरको त्यो गहिरो मायालाई धक्का दिन खोजेकी थिएँ । त्यहीँदेखि हामी छुट्टै बस्छौँ । बाहिर जाँदा हामी सँगै जान्छौँ तर छुट्टाछुट्टै क्वाटरमा फर्कन्छौँ । अब अहिले केही महिनादेखि हजुर ईष्र्याको भाव देखाइरहनुभएको छ । कारण के हो श्रीमान्ज्यू ?’
‘हेर डियर, मलाई ईष्र्या छैन । तर, तिमी यति जवान, जीवन्त र हडबडे छ्यौ कि तिमीले आफ्नो इज्जतमाथि नै सम्झौता गरौली कि भन्ने डर मात्र लागिरहेछ ।’
‘ओहो, हामी इज्जतको कुरा गर्दै छौँ भने हजुर मात्र दागरहित हुनुहुन्छ भन्ने कसरी सोच्नुभो ?’
‘लौ यता आऊ । यो ठट्टामा उडाउने कुरा होइन । एक मित्रका रूपमै सही, म गम्भीर भएर कुरा गर्दै छु । जहाँसम्म भर्खर तिमीले भनेको कुरा छ, त्यो डरलाग्दो र अतिरञ्जित छ ।’
‘त्यस्तो त होइन होला । कुनै केटीसँग गोप्य सम्बन्ध भएको हजुरले स्विकार्नुभएकै हो र मलाई पनि त्यस्तै स्वीकृति दिनुभएकै हो । मैले त्यस्तै त गरिनँ… ।’
‘पख… मेरो कुरा सुन… ।’
‘पहिला मेरो कुरा सकाउन दिनुस् । मैले त्यस्तो गरिनँ । अझैसम्म मेरो कुनै प्रेमी छैन । म प्रतीक्षारत छु, हेर्दै छु तर अहिलेसम्म आफूसुहाउँदो भेटेकी छैन । ऊ एकदमै दामी हुनुपर्छ । हजुरभन्दा धेरै दामी हुनुपर्छ । यो त अहिलेसम्म मैले हजुरलाई दिएको सुविधा हो । यो कुरा हजुरलाई थाहै छैन ।’
‘हेर प्यारी, यी सबै ठट्टा केही कामका छैनन् ।’
‘तर, म ठट्टा गरिरहेकी छैन । हजुर मसँग अठारौँ शताब्दीको कुरा गरिरहनुभएको छ र मलाई बुझाउन खोजिरहनुभएको छ कि हजुर कुनै रिजेन्सीका शासक हुनुहुन्छ । हजुरले भनेका एउटै शब्द पनि मैले बिर्सेकी छैन । र, त्यो दिन जब म अहिलेजस्तो हुन अस्वीकार गर्छ‘, हजुरले केही गर्न सक्नुहुन्न, बुझ्नु भो ? शंकै छैन, त्यस बेला हजुर अरूजस्त अन्य पुरुषसँग शारीरिक सम्बन्ध भएकी पत्नीका पति मात्र हुनुहुनेछ ।’
‘अहो, कसरी तिमी यस्तो शब्द प्रयोग गर्न सकिरहेकी छौ हँ ?’
‘कसरी प्रयोग गर्न सकिरहेकी छु ? हजुरले त्यस बेला अट्टहास छाड्नुभएको थियो जब मादाम गेर्सले भनेकी थिइन् कि मुस्यो सर्भी (सर्भीका पति) आफ्नै स्वास्नी अरूलाई दान गर्ने यस्ता नामर्द हुन् जसले आफ्नै सिङको सिकार गरिरहेझैँ लाग्छ ।’
‘मादाम दी गेरबाट जुन ठट्टा निस्किन्थ्यो, ठ्याक्कै त्यस्तै ठट्टा तिम्रो मुखबाट निस्किँदै छ ।’
‘कुरा त्यस्तो होइन । हजुर नामर्द शब्द (पत्नी अरूलाई दान गर्ने अर्थमा) हजुरलाई खुबै मनोरञ्जक लाग्छ जब यो कुरा मुस्यो दी सर्भीका हकमा लागू हुन्छ । तर, आफैँमा लागू हुँदा हजुरलाई त्यस्तो लाग्दैन । यी सब हजुरको विचारको तरंगमा भर पर्ने कुरा हुन् । खासमा म त्यस शब्दलाई त्यति धेरै ध्यान दिन्नँ । खासमा हजुर कतिको ‘पाक्नुभएको’ छ भन्ने हेर्न म यो शब्द प्रयोग गर्दै छु ।’
‘पाक्ने ? म केका लागि पाक्नु ?’
‘किन ? अब किन भनूँ ! धोका पाएकोमा नि ! जब त्यो शब्द सुन्दा मान्छे रिसाउँछ, यसको अर्थ हो, ऊ न्यानो हुँदै छ । केही महिनाअघिसम्म मैले …सिङ शब्द उच्चारण गर्दा सबैभन्दा पहिले हाँस्ने हजुर नै हुनुहुन्थ्यो । जब मान्छेले सिङ धारण गरिरहेको हुन्छ, उसलाई यो अनुभवै हुँदैन ।’
‘आज तिमी कति असभ्य तरिकाले बोलिरहेकी छौ । यसअघि मैले कहिल्यै तिमीलाई यस हालतमा देखेको थिइनँ ।’
‘अब म पनि खराब हुनलाई बदलिइसकेँ । त्यो हजुरकै गल्ती हो ।’
‘हेर प्यारी, अब अलि गम्भीर भएर कुरा गरौँ । म तिमीसँग दयाको भिख माग्छु, अबदेखि बुरेल मुस्योले तिमीलाई आँखा लगाउन नपाओस् जसरी आज राति लगायो ।’
‘हजुर ईष्र्याले जल्दै हुनुहुन्छ श्रीमान्, म भन्दै छु ।’
‘होइन, होइन । यति हो, म हास्यास्पद बन्न चाहन्नँ । हास्यास्पद बन्ने मेरो कुनै चाहना छैन । त्यो गर्धने (बुरेल) ले तिम्रो काँधमाथि वा छातीतिर सास फेरेको फेरि देखेँ भने… ।’
‘उनी त्यस बेला काने बाजा खोजिरहेका थिए ।’
‘म त्यसको… त्यसको कान ओखल्छु ।’
‘संयोगले हजुर मेरो प्रेममा पर्नुभएको त छैन ?’
‘म त्यसभन्दा धेरै खराब काम गर्ने स्थितिमा हुनेछु ।’
‘ठीक छ, ठीक छ । समस्या के हो भने म अब हजुरलाई प्रेम गर्दिनँ ।’
कम्टे उभियो । सानो टेबुललाई एक चक्कर लगायो अनि श्रीमतीको पछाडि गयो । अनि पछाडिबाट पत्नीको गर्धनमा हल्का म्वाई खायो । कम्टेस बुरुक्क उफ्रिई र उसका आँखामा आँखा जुधाएर भनी, ‘माइन्ड गर्नुहुन्न भने हामीबीच अब यस्तो वाइहात कुरा फेरि कहिल्यै नहोस् । हामी छुट्टिइसक्यौँ, सबै कुरा सकिइसक्यो ।’
‘नरिसाऊ न, यता आऊ । नढाँटी भन्छु, केही समयदेखि तिमी भुतुक्कै पार्ने सुन्दरी भएकी छौ ।’
‘त्यसो भए मैले जितेँ । हजुर पनि ठान्नुहुन्छ… म …पाकेकी छु ।’
‘तिमी अत्यन्त सुन्दरी छ्यौ प्यारी ! तिम्रा पाखुरा, तिम्रा काँध र तिम्रो छालाको रङ… ।’
‘…ले बुरेल महोदयलाई मदहोस बनाउँछ ।’
‘कस्ती क्रूर तिमी त ! तर, साँच्चै, मैले तिमीजतिकी सुन्दरी कहिल्यै कसैलाई देखिनँ ।’
‘हजुर केही समयदेखि पक्कै ‘अनशन’ मा हुनुहुन्छ ।’
‘माफ गर, के भनेको मैले बुझिनँ ।’
‘हजुर केही समयदेखि पक्कै ‘अनशन’ मा हुनुहुन्छ ।’
‘के भन्न खोजेकी ?’
‘अनशन बसेको मान्छे भोको हुन्छ । भोको हुँदा ऊ त्यस्तो कुरा पनि खान्छ जुन अरू बेला उसलाई मन पर्दैन । म खाना हुँ जो पहिला हजुरलाई मन पर्दैनथ्यो र जसमाथि यो रात दाँत गाड्न हजुरलाई कुनै आपत्ति छैन ।’
‘ओहो, मार्गरेट, यस्तो कुरा गर्न तिमीलाई कसले सिकायो हँ ?’
‘हजुर नै त हो ! मादाम दी सर्भीपछि मैले थाहा पाएसम्म चार युवतीसँग हजुरको सम्बन्ध रह्यो । सब एक से एक खग्गु वेश्या, आफ्नो क्षेत्रका नामी ‘कलाकार’ । म तिनलाई के भनूँ भन्ने चाहनुहुन्छ ? अनि कसरी यो रात म हजुरकी प्यारी हुन्छु, यो अस्थायी अनशनको बेलाबाहेक ?’
‘म अब सोझै भनिदिन्छु, प्रस्टै भन्छु । म फेरि तिम्रो प्रेममा पागल भएर फसेँ । अनि… !’
‘ए ठीक छ । त्यसो भए हामीबीच फेरि… होस् भन्ने चाहनुहुन्छ ?’
‘हो… हो, म त्यही चाहन्छु ।’
‘आजै राति ?’
‘ओह मार्गरेट !’
‘त्यसो भए सुन्नुस् ! अचम्म लाग्ला । कुरा प्रस्टै भनिदिऊँ । हामी एक अर्काका लागि केही होइनौँ, होइनौँ नि ? सत्य हो, म हजुरकी पत्नी हुँ, तर ऊ स्वतन्त्र मध्यस्थकर्ता पनि हो । म यो कृपा अन्त कतै गरौँ कि भन्ने पक्षमा थिएँ । तर, हजुरले कर गर्नुभयो । म तयार छु,.. ठ्याक्कै त्यही दरमा ।’
‘मैले बुझिनँ !’
‘म राम्ररी बुझाइदिन्छु ! हजुरका रखौटीहरूजत्तिकै म आकर्षक छु हैन त ? इमानदार भएर भन्नुस् है !’
‘हज्जार गुणा बढी आकर्षक !’
‘त्यसो भए तीमध्ये सबैभन्दा आकर्षकले तीन महिनामा हजुरसँग कति फिस लिन्थी ?’
‘म तिम्रो कुरै बुझ्दिनँ !’
‘मैले सोध्न खोजेको, तीमध्ये सबैभन्दा राम्रीका लागि तीन महिनामा पैसा, गहना, खाना, थियटरमा गरी हजुरले कति खर्च गर्नुहुन्थ्यो ?’
‘मलाई कसरी थाहा हुनु ?’
‘थाहा त हुनैपर्छ । लौ सामान्य हिसाब गरौँ । एक महिनाका लागि पाँच हजार फ्रांक, ठीक हो ?’
‘त्यस्तै होला ।’
‘लौ त प्यारा, मलाई ५ हजार फ्रांक दिइहाल्नुस्, र आजैको रातदेखि म हजुरकी हुन्छु ।’
‘तिमी पागल भइसक्यौ ।’
‘हजुरलाई त्यस्तो लाग्छ भने ठीकै छ, गुड नाइट !’
कम्टेसले कोठा छाडी र आफ्नो बेडरुमतिर गई । ओछ्यान फर्काएर पट्याइएको थियो । पर्दातिरबाट वर्णनातीत सुगन्ध हावामा फैलिरहेको थियो ।
कम्टे दैलोमा देखा पर्‍यो ।
‘यता क्या मज्जाको सुगन्ध रहे !’
‘त्यस्तो लाग्यो ? मैले आफ्नो सेन्ट बदलेकी छैन । म अझै ‘पो डी इस्पान’ नै प्रयोग गर्छु । !’
‘साँच्चै हो ? क्या गज्जब बास्ना !’
‘सायद ! तर, अब हजुर मुन्टिबक्सन्थ्यो कि ! ’cause मेरो सुत्ने बेला भयो ।’
‘मार्गरेट !’
‘जानुस् !’
ऊ भित्र छिर्‍यो र एउटा मेचमा बस्यो ।
‘त्यसो भए कस्तो लाग्यो त ?’ कम्टेसले भनी, ‘ओके, क्या फसाद पर्‍यो, होइन त !’
कम्टेसले आफ्ना चम्किला पाखुरा देखाउँदै लुगा खोली । कपालको पिन खोल्न टाउकामाथि पाखुरा उचाली । फिट कर्सेटको किनारामा तुनाबाट उसको गुलाबी छाला झल्कियो ।
कोम्टे बुरुक्क उफ्रँदै उसको नजिक आयो ।
‘यता नआउनुस्’, कोम्टेसले हकारी, ‘मलाई कन्पारा नतताउनुस् ।’
कोम्टेले उसलाई पाखुरामा गाँज्यो र म्वाई खान खोज्यो । निहुरेर उसले टेबुलमा रहेको बास्नादार पानीको ग्लास समाती र कोम्टेको मुखमा छ्यापिदिई ।
ठाडो भएर मुखमा छ्यापिएको पानी तर्काउँदै कोम्टे भकभकायो, ‘कस्ती मूर्ख आइमाई !’
‘हो, मूर्ख आइमाई ! तर, मेरो सर्त पाँच हजार भन्ने हजुरलाई थाहै छ !’
‘त्यो कुरा हास्यास्पद छ ।’
‘किन ?’
‘केको किन नि ? स्वास्नीसँग सुत्न आजसम्म कुनै श्रीमान्ले पैसा तिरेको सुनेकी छ्यौ ?’
‘क्या झुर शब्द प्रयोग गर्नुहुन्छ भने… !’
‘हुन सक्छ । तर, म दोहोर्‍याउँछु, स्वास्नीसँग सुत्न लोग्नेले पैसा तिनुपर्ने कुरा मूर्खतापूर्ण छ ।’
‘घरमा पत्नी हुँदाहुँदै पैसा तिरेर वेश्यासँग सम्भोग गर्नुचाहिँ मूर्खतापूर्ण होइन ?’
‘हुन सक्छ, तर म हास्यास्पद हुन चाहन्नँ ।’
कम्टेस ढल्कुवा मेचमा बसी । सर्पले काँचुली मिल्काएजसरी मोजा फुकाली । उसको गुलाबी खुट्टाहरू रेसमी कपडाबाट चियाउन थाले । अनि उसले आकर्षक गोडा कार्पेटमा पछारी ।
कम्टे अझै नजिक आयो र मसिनो स्वरमा भन्यो, ‘कस्तो अनौठो कुरा हो यो मार्गरेट ?’
‘के कुरा ?’
‘मसँग पाँच हजार फ्रांक लिने कुरा ।’
‘कुनै पनि कुरा यसभन्दा स्वाभाविक छैन । हामी एक अर्काका लागि विराना छौँ होइन र ? हजुर मलाई भोग्न चाहनुहुन्छ । मलाई बिहे गर्न पनि सक्नुहुन्न ’cause हाम्रो बिहे भइसक्यो । त्यसो भए मलाई हजुर किन किन्नुहुन्न ? जे भए पनि अन्य आइमाईभन्दा मेरो मूल्य अलिकति भए पनि कमै पर्न जाला !
‘सोच्नुस् । कुनै फोहोरी आइमाईकहाँ जानुभन्दा त हजुरको पैसा यहीँ रहन्छ, हजुरको आफ्नै घरमा । अझ, हजुरजत्तिको चलाख मान्छेका लागि आफ्नै पत्नी भोग्न पनि पैसा तिर्नुजति सानदार र मनोरञ्जक अरू केही होला र ? कसैले पनि अवैधानिक शैलीमा कुनै कुरालाई प्रेम गर्दैन जबसम्म त्यसका लागि उसले पर्याप्त मूल्य तिर्नुपर्ने हुँदैन । वैधानिक प्रेमका लागि पैसा तिरेर हजुरले एउटा नयाँ मान्यता स्थापित गर्नु हुनेछ । चरम शारीरिक सुख, उत्ताउलो सुखको मसलेदार स्वाद, होइन त ?’
ऊ लगभग नांगी भएर खडा भई र बाथरुमतिर गई ।
‘अब जानुस् महोदय । मैले द्वारेलाई बोलाउनु नपरोस् ।’
तनावग्रस्त र किंकर्तव्यविमूढ भएर कम्टे श्रीमतीलाई हेर्दै उभिरह्यो । अचानक मार्गरेटलाई वालेट थमायो ।
‘लौ ठीक छ, धूर्त आइमाई ! पूरै पाँच हजार फ्रांक छ । तर, एउटा कुरा भन्छु… ।’
कम्टेसले वालेट लिई । पैसा गनी र बिस्तारै सोधी, ‘के कुरा हो ?’
‘तिमीलाई यसको बानी नपरोस् ।’
कम्टेस उछिट्टिएर हाँसी र ऊतिर गएर भनी, ‘प्रत्येक महिना पाँच हजार फ्रांक महोदय ! नत्र म हजुरलाई तिनै वेश्याहरूकहाँ फिर्ता पठाइदिनेछु । अनि, अर्को कुरा, हजुरको ‘चित्त’ शान्त भयो भने मेरो रेट पनि बढ्दै जानेछ ।’

अनुवाद : अभय श्रेष्ठ

http://kantipur.ekantipur.com/printedition/news/2017-07-08/20170708100127.html

Advertisements