jump to navigation

तथागत, मलाई उत्खनन गर! फ्रेवुअरी 28, 2017

Posted by timecircle in Uncategorized.
add a comment
-सरस्वती प्रतिक्षा
तथागत,
मलाई उत्खनन गर।
म त्यही सुजाता हुँ
जसलाई तिमीले पहिलो पटक
आफ्ना सघन उदासीहरूमा भेटेका थियौ
त्यति बेला
हाड र छालाको थुप्रोमा आफैलाई रुपान्तरण गरेर
हरेसको अन्तिम बुँद पिउनुअगाडि
टक्क अडिएका थिए तिम्रा आँखाहरू मलाई देखेर…
मान्छेहरू भन्छन्
तिमीले सुजाताले बनाएको खिर खायौ
र, त्यही खिरको भरमा सम्बोधि प्राप्त ग¥यौ तिमीले।
तथागत,
म सोध्न चाहन्छु तिमीलाई
के एक बटुको खिरमा
मान्छेको कायादेखि प्रज्ञासम्म बदल्न सक्ने सामथ्र्य हुन्छ र?
के एक बटुको खिरमा
मान्छेलाई भगवान्मा बदल्न सक्ने शक्ति हुन्छ र?
तथागत,
तिमीभित्र पनि पुरिएको छ एउटा सत्य
मभित्र पनि पुरिएको छ एउटा सत्य
त्यो खिर थिएन
मैले तिमीलाई खुवाएको
पहिलो नजरमै
पहिलो स्वीकृति पस्केर गरिएको एकाकार थियो
त्यो खिर थिएन, भावहरूको चुम्बन थियो त्यो।
जहाँबाट सुरु भयो
तिम्रो आत्मबल
तिम्रो आत्मविश्वास
र, तिम्रो आत्मज्ञानको कथा
त्यो प्रेम थियो मैले तिमीलाई खुवाएको र तिमीले खाएको।
तथागत,
सबैले भन्छन् म तिम्रो सम्बोधिकी उपासिका
तिम्रो महापरिनिर्वाण र धम्मपदकी उपासिका
म भन्छु– म तिम्रो उपासिका
मेरो निम्ति
तिम्रो आँखामा उर्लने मौन संवेग र संवेगहरूकी उपासिका।
मलाई थाहा छ,
मैले आफ्नो पूरा कथा लेखेँ भने
तिम्रो सम्पूर्ण अनुहारको मार्गचित्र बदलिन सक्छ
सारनाथ, राजगिर, बोधगया र वैशालीमा
तिमीले छाडेका पदचिह्नहरूको नजिर बदलिन सक्छ
बदलिन सक्छ
बिम्बिसारको कफनमा
स्पर्श गर्न आइपुग्ने बेलुवन बगैँचाको हावाको गति
माद्री, मागंधी, गौतमी र विशाखाका
विश्वासहरूको गणित बदलिन सक्छ।
मलाई आधा नबुझेकाहरूले
मेरो पूरा कथा लेखे
अब म आफ्नो आधा कथा लेख्छु आफैले
तथागत,
यो कथाको पहिलो पर्दा तिमी नै पटाक्षेप गर।
जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो
म पुरिएकी छु निरञ्जना नदीको छेउछाउमा कतै
निरञ्जना नदीमा बग्दै आउने
प्रणयभावहरूको पाँचौँ आर्यसत्यले पुरिएकी छु
तिम्रो ध्यान, अर्धध्यान र ध्यानरहित मुद्राका
नखिचिएका तस्बिरहरूको अवशेषले पुरिएकी छु।
तथागत,
मलाई उत्खनन गर। मलाई उत्खनन गर।।

लघुकथा: ” मजराको यात्रा “ फ्रेवुअरी 24, 2017

Posted by timecircle in Uncategorized.
add a comment

-बालक

विहीवारको अबेर रात सिनित्तै खजुरबोटे तानेपछी उसले गिलास भूईंमा थेचार्‍यो । चार्जमा राखेको फोन निकाल्यो फटाफट नम्बर डायल गर्‍यो । दिनभरीको थकानले चुर अरु चारवटा खाटहरु बेखवर घुरीरहेका थिए । अधकल्चो निन्द्रामा अधकल्चो स्वरमै उसले सुन्यो ‘यती राती सम्म सुतेछैनौ बुडा’ । जवाफमा भन्यो निन्द्रै लागेन नि तैलाइ संझीरा’छु । एकछीनको गलफत्ती पछी उसले कुरा टुङ्ग्याउंदै भन्यो बालबच्चाको राम्रो हेरचाह गर्नु । गाउंघरतिर पनि अचेल मौसम राम्रो छैन आफ्नो पनि ख्याल गर्नु र इज्जतको पनि ख्याल गर्नु । मनभरीको नमिठो शंका फालेर फोन राख्यो ।

ताततातै अर्को स्थानिय नम्बरमा फोन डायल गर्‍यो । सोध्यो सोल्टिना भोली कतै बुक त छैनौ होला नी ? शुक्रवार विदाको दिन रमाइलो मनाउने सुरमा मझैसंग गफियो । उताबाट हरियो बत्ती झिलिक्क बल्यो अनी मजरा घुम्न जाने निधो भो ।

उ एउटा कम्पनीमा गाडी चालक, बिहानै एक हुल रगिंला टोली लिएर उसको गाडी हाइवेमा वत्तियो । केही जोडीहरु र केही बिजोडीहरु सहितको यात्रीहरु बोकेर सिंगो गाडी मुस्कुराउंदै मजराभित्र छिर्‍यो । कोही बंगाली कोही पठानी पूर्व परिचित लाग्ने मजराका कारिन्दाहरुसंग गाडीले खासखुस खासखुस कुरा गर्‍यो र केही वस्तु हातमा थमाएको देखियो । गाडीबाट केही यात्रीहरु निस्किए अनी एउटा एकान्त जस्तो ठाउंमा तिर्पाल बिछ्याएर पलेटी कसे । आह सेलरोटी, अचार, पुलाव, हैदरावादी विरियानीका प्याकेटहरु त्यस्तै त्यस्तै अरु थुप्रै परिकारहरु र केही बोतलहरु, संगै सेवा दिने गुनिला ताततातो नरम नरम हातहरु ।

उनिहरु पालैपालो थकाइ मारे तर गाडीले पटक्कै थकाइ मार्न मानेन । तिनै यात्रीहरु मध्येका केही यात्रीहरु कहिले उकाल्दै र कहिले ओराल्दै घरी यता घरी उता विस्तारै गुडीरह्यो । छिल्लिएका आवाजहरुले वेला वेलामा मजराभित्रको चकमन्नतालाई चिर्दै रह्यो । गाडीका सिटहरु लाजले बाहिरको हरियाली हेर्नै बिर्सेर आंखा चिम्म गरिरहे रङ्गीन सपना हेरेर ।

उसले घरदेशतिरको मौसम बिग्रेको देख्यो तर परदेशमा आफ्नै अगाडी बिग्रंदै गरेको मौसम भने देख्दै देखेन ।

(द्रष्टव्य: मजरा = मरुभूमीमा कृषी फाराम )
२ फाल्गुन २०७३
कतार