jump to navigation

गोरेटो नोभेम्बर 30, 2016

Posted by timecircle in Uncategorized.
add a comment

# १ #
त्यही वेला त हो
काप्रोको हांगाबाट उसको सिन्दुर खसालीएको
बलजफ्ती आंखाबाट भत्काएर इन्द्रेणी
बलजफ्ती नाडीबाट फुटाएर चुरा
बलजफ्ती गला गलहत्याएर पोते
बलजफ्ती बांसको तामालाई झैं छप्काएर खुशी
एउटा बिस वर्षे यौवन
चौबाटोमा नाङ्गेझार पारिएकाे
कुहिएको पद्धतीलाई बली चढाइएकाे
त्यही वेला त हो
शदियौं पुरानो दमनको घाउ कोट्याएर
मान्छेहरुको पाइताला मुनीबाट चुपचाप लर्को पछ्याउंदै
एउटा निन्याउरो गोरेटो
काप्रोको फेदबाट कर्मदाको किनारसम्म तन्किएको
त्यही वेला त हो
राम्ररी हांस्नै नजानेका
खेलौना जस्ता अनुहार र तिनका भविष्यमाथी
बलजफ्ती रांको झोसिएको ।

# २ #
भांचिए पनि मुना ज्याद्रो हुन्छ यौवन
काप काप बाट तप्प तप्प चुहिन्छ
हांगा हांगाबाट भुर्र भुर्र उड्छ
पातको मुनीबाट निस्फीक्री सुसेली हाल्छ
गोलैंचीको फूल झैं सेतै सेतै फुल्छ यौवन
पारिजात जस्तै रातको सन्नाटामा
चिम्नीको चर बाट खुत्रुक्क खाटमा ओर्लन्छ
एक सांझ अंध्यारोमा पानी भर्दै गर्दा पंधेरोमा
हरिया झिंगाहरुले
बसाएको यौवनको दवाए गला
उखुको ढांकलाई जस्तै निकाले बोक्रा
चुसे ओठ निचोरेर धित मरुञ्जेल
र निक्ले सुनसान गोरेटो हुंदै किनारामा मिल्काएर ।
# ३ #
भोलीपल्ट
टोलमा कचहरी बस्यो
पहिलो भन्दैथ्यो गोरेटो दोषी हो
यो हुन्थेन त यौवन अंध्यारोमा पंधेरो जान्थेन
दोस्रो भन्दैथ्यो यो हावा दोषी हो
यो हुन्थेन त यौवनको महक झिंगा सम्म जान्थेन
तेस्रो भन्दैथ्यो यो अंध्यारो दोषी हो
अंध्यारो हुन्थेन त झिंगाहरु बाटो बिराएर पंधेरो जान्थेन
कचहरीको मुखिया फैसला सुनाउंदैथ्यो यौवन दोषी हो
मुन्टो निमोठीएपछी यो फुल्थेन त झिंगा डुल्थेन
कोहि तयारै थिएन यौवन लुटिएको बोल्न
बरु झिंगाहरुको अधिकारका ’bout बहस चल्दैथ्यो ।
# ४ #
मेडिकल रिपोर्टमा दर्ज थ्यो
यौवनको पत्र कोतरिएको छ
भंवराहरुले पनि हुनसक्छ
झिंगाहरुले पनि हुनसक्छ
गोरेटो वर्दि लगाएर ठिङ्ग उभिएको थियो
हातमा हतकडी लिएर
झिंगाहरुको निगरानी हुंदैथ्यो दैलो दैलोमा
गल्याङ मल्याङ भिडबाट एउटा आवाज आयो
ठूला टाउका, लामा पखेटा भएका पहुंचवाल झिंगाहरु
उडे नयां गोरेटो हुंदै चोर बाटोबाट राजधानी
शहरमा तक्मावालहरुका भान्छा वरीपरी भन्किंदैछन रे
केही थान सामान्य झिंगाहरु हिरासतमा परे ।

# ५ #
सुनसान छ गोरेटो
चुलेत्रोको पातले हात हल्लाउंदैन
सुसाउनै छाड्यो
सल्लोको निधार छोएर दौडने हावा
गोरेटो सुनसान छ
तुषारोमा पनि आंखा जागै राख्थ्यो
अचानक निदाएको छ
सुन्दैन उसले यौवनका पदचापहरु
बरु पाइतालाका डोवहरु मेट्दैछ उसले टेकेका
उहिल्यै देखी घिनलाग्दो परम्परा पिएर
गोरेटो भरी असरल्ल मिल्कीएका ढुंङ्गा
ठिक त्यही वेला त हो
उसको आंखीभौं देखेर जुरुक्क उठेको
धुलो टक्टकाएको
र मुख मिठ्याउंदै आंखा झिम्क्याएको
यी पत्थरका मुटुहरुले कहिल्यै भनेनन
यौवन, तं लालीगुरांसका हांगामा फेरी रातै फुल्नुपर्छ
न त सेतो गोलैंचीको फुल भएरै आनन्दले फुल्न दिए
यौवन भत्किएको छ
भत्किएको छ उसको आफ्नै मात्र गोरेटो
छिन्न भिन्न छन भोली विहान देख्ने उसका सपनाहरु
ठिक त्यही वेला त हो
यो घिनलाग्दो समाजले करवट वदलेको
आमाको दुध चुसेर अामा बिर्सीएको
बहिनीको हातको टिका लगाएर पनि बहिनी भूलेको
आफ्नै आंगनको तुलसी माथी सेतो कोरा ओढाएको
ए समाज !
कसले गर्याे रङकाे वर्गिकरण ?
विधुरको रङ के हो हं ?
किन खुइलिदैन उसको रङ कहिल्यै ?
किन झन इन्द्रेणी भएर आउंछ
यौवनको मलामी गएको भोलीपल्ट ?
मेराे सुन्दर समाज याे सबै सबै देख्छ र नदेखेझैं गर्छ
तेराे माथामा कालाे धब्बा लगाएर
उ याैवनकाे ज्वराेले थला परेकी छ ।
उ रङ बिहिन
तिमी हिड्ने गाेरेटाे नजिकै मिल्किएकी छे ।
# ६ #
यौवन च्यात्तिएको छ
यौवन च्यात्तिएकको छैन
यौवन गोलैंचीको फूल हुंदै होइन
यो कुहिएको अण्डा हो
यसलाइ चारपाटा मुडेर डुलाउनु पर्छ
यसले जवान झिंगाहरुको ध्यान भङ्ग गरेको छ
यी आम हल्लाहरु बिच
यौवनले खुसुक्क कानमै सुनी
यो गोरेटो बाटो हुंदै केही संदिग्ध झोलाहरु
कानूनको ढोकाभित्र छिरे
अब यौवनको अघी दुइवटा मात्र बाटो छ
गोरेटोमा बिच्छ्याइएको घोयाको चपरीसंगै दविनु
वा
सेतो फूलको पत्रबाट भयङ्कर तिखा कांडा निकाल्नु
र एक्लै जाइलाग्नु
यो गोरेटो सुंघेर भन्किरहेका हरिया निला झिंगामाथी ।
-बालक
कतार
१२ मार्ग २०७३
समाप्त

(*काप्राे ‍‍= एक प्रकारकाे डाले घांस )

ma