jump to navigation

मोदीलाई खुला पत्र अक्टोबर 2, 2015

Posted by timecircle in Uncategorized.
trackback

आदरणीय नरेन्द्र मोदीज्यू, ०२७ सालमा तत्कालीन युवराज वीरेन्द्रको विवाहपछिको स्वागत समारोहमा तत्कालीन भारतीय राष्ट्रपति भिभी गिरीकै
उपस्थितिमा राजा महेन्द्रले भनेका थिए, ‘नेपाल एउटा असल छिमेकीका रूपमा भारतसँग सौहार्दपूर्ण भावनासहित सर्वमान्य अन्तर्राष्ट्रिय कानुनअनुसार व्यापार र पारवहन सुविधाबाहेक अरू केही अपेक्षा गर्दैन ।’ पैंतालीस वर्षपछि तिनै वाक्य त्यति नै संवेदनशीलताका साथ दोहोर्‍याउनुपर्दा म यहाँसँग क्षमाप्रार्थी र लज्जित छु । तपाईंका दुईपटकका नेपाल भ्रमण वास्तवमै ऐतिहासिक थिए । लामो समयदेखि भारतीय कर्मचारी र सुरक्षातन्त्रले मुसो खेलाएझैँ खेलाएको नेपाल सम्बन्धलाई तपाईंले एकै झट्कामा राजनीतिक तहमा पुर्‍याएको र नेपाललाई उच्च महत्त्व दिएको भान हुन्थ्यो । तपाईंको शैली आशाजनक र मुद्रा आत्मीय थियो । अविश्वास र आशंकाको चक्रमा घुमिरहेको नेपाल–भारत सम्बन्धमा तपाईं विश्वास र modiभरोसाको जग खडा गर्न तयार हुुनुहुन्छ भन्ने नेपाललाई लागेको थियो । तर, दुर्भाग्यवश त्यो ‘लगाइ’ एक वर्ष पनि टिकेन । नेपालका पछिल्ला घटनाक्रम’bout यहाँ जानकार हुनुहुन्न कि भन्ने भ्रम केहीलाई छ । त्यसैले अमेरिकाबाट तपार्इं कहिले भारत फर्किनुहोला भन्ने जिज्ञासा नेपालमा धेरैलाई थियो । दिल्ली फर्किसकेका तपार्इंलाई ढिलोचाँडो अहिलेको गतिरोध सल्टाउनै छ । किनकि छविसँग अत्यन्त सचेत तपाईं नेपालमा बढ्दो भारतविरोधी भावनासँग पक्कै चिन्तित हुनुहुन्छ । मोदी सर, नेपाल वास्तवमा मस्तिष्कले चल्ने देश नै होइन । मस्तिष्कले चल्ने भए यति धेरै प्राकृतिक स्रोत भएको देशको यो हविगत नै हुने थिएन । नेपाल खासमा भावुक र आवेगीहरूको देश हो, जो मूलत: हृदयले चल्छ । यो खासमा सन्कीहरूको देश हो, जो प्रेम र घृणा दुवै मनदेखि गर्छ । बानेश्वरका सडकमा तपार्इंले हिजो प्रेम र अपनत्व जगाउनुभयो । यो उन्मादी देशले उन्मादपूर्वक तपाईंको स्वागत गर्‍यो । तर, नौ महिनामै त्यो अपनत्वले नाकाहरूमा आत्महत्या गर्‍यो र यो देश तपार्इंलाई घृणा गर्ने तहमा पुग्यो । विदेशमन्त्री सुषमा स्वराज र राजदूत रणजित रायका वक्तव्य हामीले गम्भीरतापूर्वक पढिरहेका छौँ । ती वक्तव्यमा धेरै हदसम्म सत्यता छ । नेपालमा साँच्चै नै भारतविरोधी भावना बढेको छ । यसले दीर्घकालमा नेपाल र भारत दुवैको हित गर्दैन भन्नेमा शंका छैन । तर, तेल र ग्यासको हाहाकारबाट अस्तव्यस्त समाजसँग तपाईं कसरी प्रेमको आशा गर्न सक्नुुहुन्छ ? स्वाभिमानमा चोट पुगेको समाजले प्रशंसा कसरी गर्न सक्छ ? वास्तवमा तपाईंले दूतका रूपमा विदेश सचिव जयशंकरलाई पठाउन निकै ढिलो गर्नुभयो । हाम्रा नेताको कद र काठी हामीलाई राम्ररी थाहा छ । तर, बनिसकेको संविधान रोक्न सक्ने अवस्थामा ती थिएनन् । खाइसकेको चाउचाउलाई फेरि मैदा बना भनेर ती कसरी बनाउन सक्थे ? तपाईंको नाकाबन्दीले आन्दोलनरत पक्षहरूको नैतिक जमिन पनि समाप्त पारिदियो । तिनका जायज माग पनि नाकाबन्दीमा परे । नेपालमा भारतप्रतिको अविश्वास र आशंका थप दीर्घजीवी भयो । एकपछि अर्को अन्तर्राष्ट्रिय स्वीकृतिबाट तपाईंमा आत्मविश्वास पनि बढेको छ । संसारकै उदीयमान महाशक्तिका रूपमा सुरक्षा परिषद्को स्थायी सदस्यतामा तपार्इंको दाबीमा नेपालको पनि समर्थन छ । संसारकै नेतृत्व गर्ने तपाईंको महत्त्वाकांक्षालाई भारतीय अर्थव्यवस्थाको विस्तारले तार्किक आधार पनि दिएको छ । तर मोदी सर, उदीयमान विश्व नेताका रूपमा तपाईंले आफ्नो कूटनीतिक र राजनीतिक योग्यताको सबैभन्दा पहिलो परीक्षा तपाईंकै भाषामा तपार्इंको सबैभन्दा आत्मीय छिमेकी नेपालमै दिनु छ । नेपालमा परम्परागत रूपमा भारतको छवि एउटा यस्तो छिमेकीको छ, जसलाई विश्वास र अविश्वास दुवै गर्न सकिन्न । नाकाबन्दीबाट तपाईंले त्यो छवि अझ सुदृढ बनाइदिनुभएको छ । तपाईंलाई थाहै छ, दक्षिण एसियाका सबैजसो देशमा भारतविरोधी भावनाले अचम्मसँग ‘राष्ट्रवाद’को प्रतिनिधित्व गर्छ । यो दु:खी राष्ट्रवादका पछाडि ती देशका बौद्धिक, भूराजनीतिक, आर्थिक र सैनिक कुण्ठाले पनि उत्तिकै भूमिका खेलेका होलान् । सीमा विवाद, व्यापार असन्तुलन, राजनीतिक हस्तक्षेप, असमान सन्धिहरू र भूराजनीतिक विवशताले सबैजसो छिमेकीमा भारतप्रति असन्तोष र कुण्ठालाई जन्म दिएको होला । तर मोदी सर, क्षेत्रीय मोर्चामै, अझ सबैभन्दा निकट र आत्मीय छिमेकमै असफल नेता कसरी विश्वनेताका रूपमा सफल होला ? हाम्रो संविधानसभामा नेपाल र भारतको मित्रता’bout तपार्इंको व्याख्या सही थियो । नेपाल र भारत संसारका अरू कुनै पनि दुई देशभन्दा निकट हुन् भन्ने तपार्इंको दाबी पनि तर्कपूर्ण थियो । हाम्रा लिपि मिल्छन् । हाम्रा संस्कृति मिल्छन् । हाम्रो विधिशास्त्रदेखि वास्तुशास्त्रसम्म एउटै छ । तेत्तीस करोड देवता हाम्रा साझा हुन् । हाम्रा सामाजिक जीवन र तीर्थहरू एउटै छन् । हामी भूगोलले, इतिहासले र सभ्यताले जोडिएका छौँ । यति विशिष्ट सम्बन्ध हुँदाहुँदै पनि आमनेपालीमाझ भारतको छवि किन विश्वसनीय र आत्मीय छैन ? यसको जवाफ नेपाल एक्लैले खोज्न सक्ला र मोदी सर ? नेपालमा घाउहरूको लामो शृंखला छ । लाखौँ नेपालीभाषी भुटानी भारतकै समर्थनमा भुटानबाट निकालिए । तिनलाई भारत हुँदै नेपाली भूमिमा ल्याएर छाडियो । दशकौँसम्मको शरणार्थी शिविरको पीडा र यातना दिएर तिनलाई तेस्रो देश पुनर्वास गरियो । अहिले बिहारमा नक्कली शरणार्थी शिविर बनिरहेका वेला हामीले झापाका शरणार्थी शिविरलाई चाहिँ कसरी सम्झने मोदी सर ? मोदी सर, हामीले पटक–पटक गतिरोधको सामना गरेका छौँ । सन् १९६१ को भारत–नेपाल व्यापार सन्धि सन् १९७० मा सकिन लाग्दै थियो । तर, पाकिस्तानसँग करमुक्त व्यपार गर्न खोजेको, कोदारी राजमार्ग खोलेर चीनसँग नजिकिएको र सन् १९६९ मा उत्तरी चेकपोस्टबाट भारतीय सेना फिर्ता बोलाउन लगाएको भन्दै असन्तुष्ट भारत सन्धि नवीकरण गर्न तयार भएन । लामो गलफत्ती र अन्तर्राष्ट्रिय मञ्चमा खुला आरोप–प्रत्यारोपछि भारतले जम्मा दुई महिना समय थप्यो । त्यतिखेरै नेपालमा भारतविरोधी प्रचारले आत्तिएर तेह्र सय भारतीय नागरिकले नेपाल छाडेको भारतको दाबी थियो । तर, त्यसैवेला बंगलादेश युद्ध सुरु भयो । तत्कालीन भारतीय विदेशमन्त्री सरदार स्वर्णसिंह काठमाडौं आए । नेपालले युद्ध र संयुक्त राष्ट्रसंघ दुवैमा भारतको पक्ष लिएपछि बल्लतल्ल सन्धि नवीकरण भयो । सन् १९७६ मा सिक्किमलाई जनमतसंग्रहको आवरण र सैन्य बलमा भारतमा गाभेपछि नेपालले आपत्ति जनायो । तर, भारतले जवाफ दियो, ‘यो सिक्किम र भारतको आन्तरिक मामिला हो, कुनै तेस्रो देशले हस्तक्षेप गर्न जरुरी छैन ।’ तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल दिल्ली भ्रमणमा गए । भारतले विभिन्न ४४ वस्तु निर्यातमा लागेको प्रतिबन्ध हटायो । भारतीय विदेशमन्त्री यशवन्त राव चव्हाणले नेपाललाई प्रतिबद्धता गरिएको सहायताले निरन्तरता पाउने थप सहयोग गरिने वचन दिए । यसरी नेपाललाई थामथुम पारियो । सन् १९७५ मा राज्याभिषेकको अवसरमा राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न प्रस्ताव गरे । अरू पाँच वर्षमा थुप्रै देशले समर्थन गरे तर भारत बोलेन । सन् १९८० मा राजकीय भ्रमणको अवसरमा नयाँदिल्लीमै वीरेन्द्रले यो प्रस्ताव दोहोर्‍याए । शान्तिक्षेत्रको यो फन्डामा पछि चीनसँग हतियार किनेको प्रकरण जोडियो र ०४५ सालको लामो नाकाबन्दी सुरु भयो । भूपरिवेष्ठित देशका रूपमा अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले तेस्रो देशसँग निर्बाध यातायात र मुक्त व्यापारको सुविधा पाउनुपर्नेमा नाकामै समस्या आयो । अहिले त्यही घाउ दोहोरिएको छ । तपार्इंहरू ‘चीनतिर नहेर’ भन्नुुहुन्छ । हामीसँग अर्को के बाटो छ मोदी सर ? नेपालको रोस्ट्रममा उभिएर तपाईंले ऋषि–मनको प्रवचन दिनुभयो । सधैँ भारतको उपेक्षाबाट आजित संविधानसभा तपार्इंको आत्मीय व्यवहारबाट यति प्रफुल्ल भयो कि तपाईंका हरेक वाक्यमा ताली बजायो । निश्चय नै जबसम्म नेपालमा विभेद रहनेछ, सीमान्तीकृत वर्ग, क्षेत्र, जाति र लिंगले आत्मसम्मान हासिल गर्नेछैनन्, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको जग बस्नेछैन, तबसम्म यो देशमा शान्ति हुनेछैन । तर, नाकाबन्दीको ढोकाबाट निस्कने समाधान कुनै पनि देशभक्तलाई कसरी मान्य होला र ? मोदी सर, यही सोमबार तपार्इंलाई भेटेर फर्केपछि फेसबुक प्रमुख मार्क जुकरबर्गलाई ‘अलाइन्स फर जस्टिस एन्ड अकाउन्टिबिलिटी’ नामक संस्थाले सेनेटाइजरका थुप्रै बोतल पठायो र भन्यो, ‘जुकरबर्ग † गुजरात दंगाको जिम्मेवारसँग हात मिलायौ, अब यी बोतलले तिम्रा फोहोर हात धोऊ ।’ ११ मंसिर ०७१ मा बानेश्वरका ती सर्वसाधारण, जसले प्रेम, उल्लास र उत्साहका साथ एक वर्षअघि तपाईंको हात समाएका थिए, के ती सबैले यो नाकाबन्दीमा सेनेटाइजरले हात धुनुपर्ने हो ? नेपालप्रति तपाईंको यति अप्रिय व्यवहारपछि एउटै प्रश्न सोध्नु छ, तपाईंको छाती साँच्चै ५२ इन्चकै हो त ? अबका केही दिनमै त्यसको उत्तर आउनेछ । आशा छ, तपार्इंले छातीको इन्च घटाउनुहुनेछैन । -कृष्णज्वाला देवकोटा ( नयां पत्रिका October 2, 2015)

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: