jump to navigation

गाउशहर नोभेम्बर 27, 2012

Posted by timecircle in Uncategorized.
add a comment

गाउशहर

चौबिस सालतिर
मलाई जन्माउदा
सबै भन्थे रे
तिमी बुढी भैसक्यौ,
शिर सेतै फुलीसक्यो,
गाला चाउरीसक्यो
त्यस अघि र पछी पनी
तिमीले,
धेरै धरै जन्मायौ
कोही इन्जिनियर जन्मायौ
कति डाक्टर हुर्कायौ
न्यानो तिम्रो अगालोले
राष्ट्र कवि हुर्कायो
वकिल पढायो
हाकिम बढायो ।
+ + +
तिमीलाई त पछुतो छैन होला
सन्तानले डाडा काडा ढाकेकै छ
तिम्रो,
ढिंडो र गुन्द्रुके संस्कृती
परिवर्तन भयन रे
त्यसैले त ‘पिज्जा’ र ‘वर्गर’ को
आधुनिक संस्कृती पछ्याउदै
कृत्रिम सज्जाको
खोज्दै उज्यालो अनुहार
शहर तिर बसाई सरेछन ।
+ + +
संयोगमा तिमीले एउटा
मजदुरहरुको पुस्ता जन्माईछौ
जो समयसगै
मलायाका जङ्गल
अनी अरबका खाडीमा
जिन्दगीसंगै पौंठेजोरी खेलीरहेछन
गासका लागि
बासका लागि
एकधरो ओढ्नेको लागि,
आखीर दुनिया बदल्ने
मजदुर नै त हुन
हामीजस्तै बहादुर मजदुर
हामी त अहिले पराइको
आागन सफा गरिरहेछौं
बगैंचा फुलाईरहेछौं
घर लिपीरहेछौं

शहर सिंगारीरहेछौं ।
+ + +
यसपाला छुट्टी आउदा
तिमीले मलाई पनि बोलायौ
अरु शहरीया सन्तानलाई जस्तै
मुलुक अनिश्चित भविष्यतिर लम्किरहदा
अर्को छुट्टीमा
भेट्न पाउछु वा पाउदीन
अमिलो मनसगै उकालो नापें,
चण्डिमा तिमीसंग
जम्काभेट भो,
निधारमा दियो बालेर
कुरी बसेकी रहिछौ
गोरेटाहरु मोटर बग्ने बनाईछौ
छानाहरु झिलीमीली पारीछौ
चुपचाप, चुपचाप
एउटा क्रान्ति जन्माईछौ
पाखा पखेरा
विस्तारै उज्यालो हुदै रहेछ
आश्चर्य त के भने
तिमी त झन
जवान हुदै रहिछौ
हजारौं अरु मजदुर
जन्माउने सामर्थ्र्य लिएर ।
+ + +
भोली पल्ट पूनर्मिलन भो हाम्रो
बगाल छुटेका बाछाहरु जस्तै
कसैले बासी आश्वासन डकारे,
कसैले राजधानीको
फोहोर राजनिती वान्ता गरे,
मैले केही बोलिन सुनिरहें
मन धान्न सकिनौ क्यारे
तिमी त मुसलधारे बर्सियौ
काउलेपानीमा,
तिमीले कानमै फुसफुसायौ
मलाई केही ल्याईदिएनौ ?
म गरिब सन्तान
मैले फोस्रा भाषणहरु त ल्याउन सकिन
तर धैर्य गर है
अर्को, अर्को छुट्टीमा
एउटा नया पहिरन लिई आउनेछु
सिउदोमा राताम्मे लालीगुरास
सुनगाभाका लुर्का कानमा
हरियाली घुम्टोभित्र सुन्दर वक्षस्थल
रेशमी बुट्टेदार फरिया
मर्स्र्याङ्गदीको पवित्र पानीले
आचल धोईदिनेछु
त्येतिवेला ‘गाउशहर’
तिमी बैंशालु अनुहार
अन्नपूर्णमा एैना हेर ल !
-सुशील खड्का