jump to navigation

खुट्टामा श्रीपेच मार्च 5, 2017

Posted by timecircle in Uncategorized.
add a comment

-प्रकाश गुरागांइ

सिंहदरबारभित्रको रातो कुर्सीमा
टाउको टेकेर बसेको छ एउटा मान्छे
जो आकाशतिर फर्किएका खुट्टामा लगाउँछ श्रीपेच ।

यस्तो छ कुर्सीको किंवदन्ती–

उहिले, धेरै पहिला
सिंहदरबार बन्नुभन्दा अगाडि
एउटा रूख थियो रे चौदण्डीतिर
हजारौं वर्षदेखि शीतलता दिएको त्यही रूख काटेर
बनाइएछ कुर्सीको अगाडि दायाँतिरको खुट्टा ।

कर्णालीको गढतिर नजिक
हाँगाबिगाबाटै यो देशका हरेक घर बनाउन पुग्ने
जवान थारूजस्तै ठिंग उभिएको थियो रे
एउटा सतिसाल
बडेमानको त्यो रूखबाट
बनाइएछ कुर्सीको अगाडि बायाँतिरको खुट्टा ।

चेपाङको इष्टदेव थान छेउमा
इष्टदेवले नै रोपेर छाडेको
अजम्बरी चिउरीको बोट थियो
त्यसैलाई ढालेर
बनाइएछ कुर्सीको पछाडि दायाँतिरको खुट्टा ।

यो देशसँगै उम्रिएको थियो रे
तिला किनारामा एउटा रूख
लाखौं वर्षपछि रातारात गायब भयो
र बनाइएछ कुर्सीको पछाडि बायाँतिरको खुट्टा ।

केही सय वर्षअघिदेखि
गोर्खा राज्यमा थुप्रिएका थिए
आत्मसमर्पण नगर्ने बहादुरहरुका हाड
ओछ्याएर तिनै हाड
मुनिबाट जोडिएछ चारै खुट्टा र बनाइएछ कुर्सी ।

छोप्नलाई कुर्सीका हाडखोर
लोकतन्त्रको छुराले तासेर आदिवासी छाला
बेस्सरी दलिएको छ विदेशी पालिस ।

सिंहदरबारभित्र यही कुर्सीमा विराजमान छ
खुट्टामा श्रीपेच लगाएर टाउको टेकेको मान्छे ।

खतरनाक छ यो कुर्सी
ठमठम हिँडेर कुर्सीसम्म पुगेको मान्छे
अचानक फेरिन्छ
र टाउकोले बसेर खुट्टा ठाडा पार्छ
हरेकसँग खुट्टैले संवाद गर्छ ।

दर्दनाक हुन्छ खुट्टाको भाषा ।

 

तथागत, मलाई उत्खनन गर! फ्रेवुअरी 28, 2017

Posted by timecircle in Uncategorized.
add a comment
-सरस्वती प्रतिक्षा
तथागत,
मलाई उत्खनन गर।
म त्यही सुजाता हुँ
जसलाई तिमीले पहिलो पटक
आफ्ना सघन उदासीहरूमा भेटेका थियौ
त्यति बेला
हाड र छालाको थुप्रोमा आफैलाई रुपान्तरण गरेर
हरेसको अन्तिम बुँद पिउनुअगाडि
टक्क अडिएका थिए तिम्रा आँखाहरू मलाई देखेर…
मान्छेहरू भन्छन्
तिमीले सुजाताले बनाएको खिर खायौ
र, त्यही खिरको भरमा सम्बोधि प्राप्त ग¥यौ तिमीले।
तथागत,
म सोध्न चाहन्छु तिमीलाई
के एक बटुको खिरमा
मान्छेको कायादेखि प्रज्ञासम्म बदल्न सक्ने सामथ्र्य हुन्छ र?
के एक बटुको खिरमा
मान्छेलाई भगवान्मा बदल्न सक्ने शक्ति हुन्छ र?
तथागत,
तिमीभित्र पनि पुरिएको छ एउटा सत्य
मभित्र पनि पुरिएको छ एउटा सत्य
त्यो खिर थिएन
मैले तिमीलाई खुवाएको
पहिलो नजरमै
पहिलो स्वीकृति पस्केर गरिएको एकाकार थियो
त्यो खिर थिएन, भावहरूको चुम्बन थियो त्यो।
जहाँबाट सुरु भयो
तिम्रो आत्मबल
तिम्रो आत्मविश्वास
र, तिम्रो आत्मज्ञानको कथा
त्यो प्रेम थियो मैले तिमीलाई खुवाएको र तिमीले खाएको।
तथागत,
सबैले भन्छन् म तिम्रो सम्बोधिकी उपासिका
तिम्रो महापरिनिर्वाण र धम्मपदकी उपासिका
म भन्छु– म तिम्रो उपासिका
मेरो निम्ति
तिम्रो आँखामा उर्लने मौन संवेग र संवेगहरूकी उपासिका।
मलाई थाहा छ,
मैले आफ्नो पूरा कथा लेखेँ भने
तिम्रो सम्पूर्ण अनुहारको मार्गचित्र बदलिन सक्छ
सारनाथ, राजगिर, बोधगया र वैशालीमा
तिमीले छाडेका पदचिह्नहरूको नजिर बदलिन सक्छ
बदलिन सक्छ
बिम्बिसारको कफनमा
स्पर्श गर्न आइपुग्ने बेलुवन बगैँचाको हावाको गति
माद्री, मागंधी, गौतमी र विशाखाका
विश्वासहरूको गणित बदलिन सक्छ।
मलाई आधा नबुझेकाहरूले
मेरो पूरा कथा लेखे
अब म आफ्नो आधा कथा लेख्छु आफैले
तथागत,
यो कथाको पहिलो पर्दा तिमी नै पटाक्षेप गर।
जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो
म पुरिएकी छु निरञ्जना नदीको छेउछाउमा कतै
निरञ्जना नदीमा बग्दै आउने
प्रणयभावहरूको पाँचौँ आर्यसत्यले पुरिएकी छु
तिम्रो ध्यान, अर्धध्यान र ध्यानरहित मुद्राका
नखिचिएका तस्बिरहरूको अवशेषले पुरिएकी छु।
तथागत,
मलाई उत्खनन गर। मलाई उत्खनन गर।।

लघुकथा: ” मजराको यात्रा “ फ्रेवुअरी 24, 2017

Posted by timecircle in Uncategorized.
add a comment

-बालक

विहीवारको अबेर रात सिनित्तै खजुरबोटे तानेपछी उसले गिलास भूईंमा थेचार्‍यो । चार्जमा राखेको फोन निकाल्यो फटाफट नम्बर डायल गर्‍यो । दिनभरीको थकानले चुर अरु चारवटा खाटहरु बेखवर घुरीरहेका थिए । अधकल्चो निन्द्रामा अधकल्चो स्वरमै उसले सुन्यो ‘यती राती सम्म सुतेछैनौ बुडा’ । जवाफमा भन्यो निन्द्रै लागेन नि तैलाइ संझीरा’छु । एकछीनको गलफत्ती पछी उसले कुरा टुङ्ग्याउंदै भन्यो बालबच्चाको राम्रो हेरचाह गर्नु । गाउंघरतिर पनि अचेल मौसम राम्रो छैन आफ्नो पनि ख्याल गर्नु र इज्जतको पनि ख्याल गर्नु । मनभरीको नमिठो शंका फालेर फोन राख्यो ।

ताततातै अर्को स्थानिय नम्बरमा फोन डायल गर्‍यो । सोध्यो सोल्टिना भोली कतै बुक त छैनौ होला नी ? शुक्रवार विदाको दिन रमाइलो मनाउने सुरमा मझैसंग गफियो । उताबाट हरियो बत्ती झिलिक्क बल्यो अनी मजरा घुम्न जाने निधो भो ।

उ एउटा कम्पनीमा गाडी चालक, बिहानै एक हुल रगिंला टोली लिएर उसको गाडी हाइवेमा वत्तियो । केही जोडीहरु र केही बिजोडीहरु सहितको यात्रीहरु बोकेर सिंगो गाडी मुस्कुराउंदै मजराभित्र छिर्‍यो । कोही बंगाली कोही पठानी पूर्व परिचित लाग्ने मजराका कारिन्दाहरुसंग गाडीले खासखुस खासखुस कुरा गर्‍यो र केही वस्तु हातमा थमाएको देखियो । गाडीबाट केही यात्रीहरु निस्किए अनी एउटा एकान्त जस्तो ठाउंमा तिर्पाल बिछ्याएर पलेटी कसे । आह सेलरोटी, अचार, पुलाव, हैदरावादी विरियानीका प्याकेटहरु त्यस्तै त्यस्तै अरु थुप्रै परिकारहरु र केही बोतलहरु, संगै सेवा दिने गुनिला ताततातो नरम नरम हातहरु ।

उनिहरु पालैपालो थकाइ मारे तर गाडीले पटक्कै थकाइ मार्न मानेन । तिनै यात्रीहरु मध्येका केही यात्रीहरु कहिले उकाल्दै र कहिले ओराल्दै घरी यता घरी उता विस्तारै गुडीरह्यो । छिल्लिएका आवाजहरुले वेला वेलामा मजराभित्रको चकमन्नतालाई चिर्दै रह्यो । गाडीका सिटहरु लाजले बाहिरको हरियाली हेर्नै बिर्सेर आंखा चिम्म गरिरहे रङ्गीन सपना हेरेर ।

उसले घरदेशतिरको मौसम बिग्रेको देख्यो तर परदेशमा आफ्नै अगाडी बिग्रंदै गरेको मौसम भने देख्दै देखेन ।

(द्रष्टव्य: मजरा = मरुभूमीमा कृषी फाराम )
२ फाल्गुन २०७३
कतार

हिजो र आज एक अनुभव डिसेम्बर 1, 2016

Posted by timecircle in Uncategorized.
add a comment

हिजो
म मेरै घुमाउने घरको मालिक थिए
जव तिमी
लुखुर लुखुर एक जाडोको बिहान
सुरक्षित छिरेथ्यौ मेरो दैलोबाट
मिठो गरी चपाएथ्यौ मकै र भट्ट
गुन्द्रुकको अचार र महिको कचौरा
स्वाद मानेर सिनित्तै पारेथ्यौ
तिमीले देखेका थियौ नी
सुन्दर थियो मेरो गाउ
शान्त थियो हावा
गाढा निलो थियो आकाश
पहारिलो घामको तातो
तिम्रो शहर देखी निक्कै टाढा
त्यही सौताने पाटोमा परेको मेरो गाउ
हरेक यामको जाडो झेलेर उस्तै छ
एउटै कुरा मात्र फरक छ
त्यो सुन्दरता हेर्ने मान्छे हराएको छ ।
आज
तिमी मालिक भएका छौ
म सडकमा ओर्लिएको छु
मैले
न मेरो माटो भन्न पाएको छु
न मेरो बाटो भन्न पाएको छु
न मेरो पानी भन्न पाएको छु
न मेरो जवानी भन्न पाएको छु
विश्व मानचित्रमा
म संग बचेको छ त केवल
मेरो माग्ने झोला
फाटेको इज्जत
असुरक्षित मन
र होचो कदको हरियो पासपोर्ट ।
-बालक
२०७३ मार्ग १५
कतारimg_20161111_175455_1

गोरेटो नोभेम्बर 30, 2016

Posted by timecircle in Uncategorized.
add a comment

# १ #
त्यही वेला त हो
काप्रोको हांगाबाट उसको सिन्दुर खसालीएको
बलजफ्ती आंखाबाट भत्काएर इन्द्रेणी
बलजफ्ती नाडीबाट फुटाएर चुरा
बलजफ्ती गला गलहत्याएर पोते
बलजफ्ती बांसको तामालाई झैं छप्काएर खुशी
एउटा बिस वर्षे यौवन
चौबाटोमा नाङ्गेझार पारिएकाे
कुहिएको पद्धतीलाई बली चढाइएकाे
त्यही वेला त हो
शदियौं पुरानो दमनको घाउ कोट्याएर
मान्छेहरुको पाइताला मुनीबाट चुपचाप लर्को पछ्याउंदै
एउटा निन्याउरो गोरेटो
काप्रोको फेदबाट कर्मदाको किनारसम्म तन्किएको
त्यही वेला त हो
राम्ररी हांस्नै नजानेका
खेलौना जस्ता अनुहार र तिनका भविष्यमाथी
बलजफ्ती रांको झोसिएको ।

# २ #
भांचिए पनि मुना ज्याद्रो हुन्छ यौवन
काप काप बाट तप्प तप्प चुहिन्छ
हांगा हांगाबाट भुर्र भुर्र उड्छ
पातको मुनीबाट निस्फीक्री सुसेली हाल्छ
गोलैंचीको फूल झैं सेतै सेतै फुल्छ यौवन
पारिजात जस्तै रातको सन्नाटामा
चिम्नीको चर बाट खुत्रुक्क खाटमा ओर्लन्छ
एक सांझ अंध्यारोमा पानी भर्दै गर्दा पंधेरोमा
हरिया झिंगाहरुले
बसाएको यौवनको दवाए गला
उखुको ढांकलाई जस्तै निकाले बोक्रा
चुसे ओठ निचोरेर धित मरुञ्जेल
र निक्ले सुनसान गोरेटो हुंदै किनारामा मिल्काएर ।
# ३ #
भोलीपल्ट
टोलमा कचहरी बस्यो
पहिलो भन्दैथ्यो गोरेटो दोषी हो
यो हुन्थेन त यौवन अंध्यारोमा पंधेरो जान्थेन
दोस्रो भन्दैथ्यो यो हावा दोषी हो
यो हुन्थेन त यौवनको महक झिंगा सम्म जान्थेन
तेस्रो भन्दैथ्यो यो अंध्यारो दोषी हो
अंध्यारो हुन्थेन त झिंगाहरु बाटो बिराएर पंधेरो जान्थेन
कचहरीको मुखिया फैसला सुनाउंदैथ्यो यौवन दोषी हो
मुन्टो निमोठीएपछी यो फुल्थेन त झिंगा डुल्थेन
कोहि तयारै थिएन यौवन लुटिएको बोल्न
बरु झिंगाहरुको अधिकारका बारे बहस चल्दैथ्यो ।
# ४ #
मेडिकल रिपोर्टमा दर्ज थ्यो
यौवनको पत्र कोतरिएको छ
भंवराहरुले पनि हुनसक्छ
झिंगाहरुले पनि हुनसक्छ
गोरेटो वर्दि लगाएर ठिङ्ग उभिएको थियो
हातमा हतकडी लिएर
झिंगाहरुको निगरानी हुंदैथ्यो दैलो दैलोमा
गल्याङ मल्याङ भिडबाट एउटा आवाज आयो
ठूला टाउका, लामा पखेटा भएका पहुंचवाल झिंगाहरु
उडे नयां गोरेटो हुंदै चोर बाटोबाट राजधानी
शहरमा तक्मावालहरुका भान्छा वरीपरी भन्किंदैछन रे
केही थान सामान्य झिंगाहरु हिरासतमा परे ।

# ५ #
सुनसान छ गोरेटो
चुलेत्रोको पातले हात हल्लाउंदैन
सुसाउनै छाड्यो
सल्लोको निधार छोएर दौडने हावा
गोरेटो सुनसान छ
तुषारोमा पनि आंखा जागै राख्थ्यो
अचानक निदाएको छ
सुन्दैन उसले यौवनका पदचापहरु
बरु पाइतालाका डोवहरु मेट्दैछ उसले टेकेका
उहिल्यै देखी घिनलाग्दो परम्परा पिएर
गोरेटो भरी असरल्ल मिल्कीएका ढुंङ्गा
ठिक त्यही वेला त हो
उसको आंखीभौं देखेर जुरुक्क उठेको
धुलो टक्टकाएको
र मुख मिठ्याउंदै आंखा झिम्क्याएको
यी पत्थरका मुटुहरुले कहिल्यै भनेनन
यौवन, तं लालीगुरांसका हांगामा फेरी रातै फुल्नुपर्छ
न त सेतो गोलैंचीको फुल भएरै आनन्दले फुल्न दिए
यौवन भत्किएको छ
भत्किएको छ उसको आफ्नै मात्र गोरेटो
छिन्न भिन्न छन भोली विहान देख्ने उसका सपनाहरु
ठिक त्यही वेला त हो
यो घिनलाग्दो समाजले करवट वदलेको
आमाको दुध चुसेर अामा बिर्सीएको
बहिनीको हातको टिका लगाएर पनि बहिनी भूलेको
आफ्नै आंगनको तुलसी माथी सेतो कोरा ओढाएको
ए समाज !
कसले गर्याे रङकाे वर्गिकरण ?
विधुरको रङ के हो हं ?
किन खुइलिदैन उसको रङ कहिल्यै ?
किन झन इन्द्रेणी भएर आउंछ
यौवनको मलामी गएको भोलीपल्ट ?
मेराे सुन्दर समाज याे सबै सबै देख्छ र नदेखेझैं गर्छ
तेराे माथामा कालाे धब्बा लगाएर
उ याैवनकाे ज्वराेले थला परेकी छ ।
उ रङ बिहिन
तिमी हिड्ने गाेरेटाे नजिकै मिल्किएकी छे ।
# ६ #
यौवन च्यात्तिएको छ
यौवन च्यात्तिएकको छैन
यौवन गोलैंचीको फूल हुंदै होइन
यो कुहिएको अण्डा हो
यसलाइ चारपाटा मुडेर डुलाउनु पर्छ
यसले जवान झिंगाहरुको ध्यान भङ्ग गरेको छ
यी आम हल्लाहरु बिच
यौवनले खुसुक्क कानमै सुनी
यो गोरेटो बाटो हुंदै केही संदिग्ध झोलाहरु
कानूनको ढोकाभित्र छिरे
अब यौवनको अघी दुइवटा मात्र बाटो छ
गोरेटोमा बिच्छ्याइएको घोयाको चपरीसंगै दविनु
वा
सेतो फूलको पत्रबाट भयङ्कर तिखा कांडा निकाल्नु
र एक्लै जाइलाग्नु
यो गोरेटो सुंघेर भन्किरहेका हरिया निला झिंगामाथी ।
-बालक
कतार
१२ मार्ग २०७३
समाप्त

(*काप्राे ‍‍= एक प्रकारकाे डाले घांस )

ma

खबर अक्टोबर 7, 2016

Posted by timecircle in Uncategorized.
add a comment

नसोध न मलाई
कहिले र्फकन्छौ भनेर
चाडको वेला मन थाम्नै गाह्रो हुन्छ क्या !
बहीनीको बिहे छिन्दाको ऋण
हल गोरु किन्दाको ऋण
अनी लाहुर हिन्दाको ऋण
यती निखनेर र्फकन्छु म,
बुझ्दैछु,
समुन्द्र जस्तै र’छ चलाएमान
जिन्दगीको आयतन
आन्दोलीत छ त मन
आन्दोलीत छन त हातहरु
आन्दोलीत छन त आंखाहरु
निस्कन्छन कहिले कहीं
अनायासै
क्रोध र आंशुका मुस्लाहरु
तर
बुझ्दैन यी वर्गका भाषाहरु
मेरो देश लाटो भएको छ,
तैपनी,
पिइदिन्छु सारा सुस्केराहरु
बाध्यताको घुट्को संगै
फिस्स हांस्छु उज्यालोलाई देखाउन,
यहां,
मेशिनको फित्ता झैं पूर्ण गतिमा छु
र म सञ्चै छु ।।

-बालक
२०७३ आश्विन ३०
कतार

शुन्य समय अक्टोबर 4, 2016

Posted by timecircle in Uncategorized.
add a comment

जून ओढेर सुतिरहेको वस्तिको किनारैबाट
घाम ओढेर हिंडीरहेका मलामीहरु
मेरै दैलो ढुकीरहेको देख्छु म,
थरी थरी रङ्गी बिरङ्गी
झण्डा हल्लाउंदै कुंदीरहेका शिकारीहरु
निर्वाध भोका मान्छेहरुको शिकार गरिरहेको देख्छु म,
अहो मेरो ओढार !
मेरो संग्लो पानीको मूल
सकुनीहरुले चाखे पो थापेछन जुवाको खालमा,
आफ्नै घरभित्र असुरक्षीत
पराईको हप्की दप्कीले कायल
कालोलाई कालो भन्नै नहुने
यो कस्तो अंध्यारो बिहान बोकेर आयौ ?
हाम्रा सारा उज्याला दिन खरिदेर
अन्धकार बेचे हामीलाई
यो कस्तो जमाना बोकेर आयौ ?
मैले गलत देखें
या सांच्चै गलत भैरहेछ
ए साथी तिमी नै भन त
म होशमा छु की बेहोश ?

-बालक
२०७३ असोज १७
कतार

रङ उडेको जिवन सेप्टेम्बर 24, 2016

Posted by timecircle in Uncategorized.
add a comment

hna

आंटो, माटो र बाटो सेप्टेम्बर 17, 2016

Posted by timecircle in Uncategorized.
add a comment

*
घरमा पेटभरी खाने हुन्थेन
महिनौं लडेपछी मकैको पोथ्रामा
पुड्का पुड्की देखिन्थ्यो
पाक्ला र खाम्ला भनेर
हौसिन्थे वनमानव जस्ता घर मान्छेहरु
जाडोको बिहान टुप्लुक्क आइपुगेको घाम झैं
कतै नभेटिएको खुशी
यीनका अनुहारमा भेटिन्थ्यो,
कति स्वादिलो थ्यो,
छुट्याउनै गाह्रो
भोक मिठो थ्यो वा आंटो !
**
खै यिनले बिर्से की संझदैछन
बालक्रीडामै निधारमा दलेको धूलो
हिंउदमा जोतेर पल्टाएको डल्लो,
वर्षामा सायर रोप्न ठिक्क
फोगटोमा सम्मिएको हिलो,
यीनलाई अझै हेक्का छैन की के हो ?
तिम्रो पाखाभरी हावासंगै वहकिने धूलो
जेठो बूढो र मार्सी हुर्काउने हिलो,
उमेर छिप्पींदै जांदा
के ले दुषित पार्‍यो तिम्रो मन
छुट्याउन किन गाह्रो भो ?
यो तिम्रो देश, मेरो देशको माटो हो माटो !!
***
तिमीले टुकुटुकु हिंड्न सिकेको
आंगन देखी गल्ली सम्म
गल्ली देखी गा बि स को ढोका सम्म
गा बि स देखी जिल्ला प्रशासनको बहिखाता सम्म
जि प्र को बहिखातादेखी मुग्लिीन थानकोट हुंदै
यूवाहरुको पसिना चुस्ने श्रम विभागको चोटासम्म
श्रमको चोटा कोठादेखी गौचरण सम्म
चुसेर मिल्काइएका छोक्राहरु
लाइन बद्ध, तम्तयार छन,
दुनियांभरीका भर्ती केन्द्रहरुमा छाती नाप्न
जमीन देखी आकाश सम्म
ट्राफिक जाम मात्र देखीन्छ
छुट्याउनै गाह्रो भो
यो हाम्रै बाटो हो या अर्कैको बाटो !!!

-बालक
२०७३ भाद्र ३१
कतार

fb_img_1469386440202

 

देशको दुर्गती सेप्टेम्बर 7, 2016

Posted by timecircle in Uncategorized.
add a comment

sdf